गोलबजार नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

गोलबजार नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

"0" Comments

सिरहा, १७ असार : यहाँको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक विशेष कार्यक्रममा आज यस्तो घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक दिलिप लामाले खोप सुनिश्चितता घोषणा गर्दै खोप अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “पूर्ण खोप अभियान एकपटकको कार्यक्रम होइन, यो निरन्तर चलिरहने जिम्मेवारी हो । समुदायको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पण नै यसको सफलताको आधार हो ।

उपप्रमुख लामाले गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले खोप अभियानलाई सफल बनाउन योगदान दिने सम्पूर्ण कर्मचारी, स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा बलियो ढोका हो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनुहुँदैन । हामीले सबै वडामा यो सुनिश्चित गरेका छौँ, र आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेछ ।

नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले राष्ट्रिय खोप तालिकाअनुसार नगरका १४ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि यस्तो घोषणा गरिएको बताउनुभयो । उहाँले थप जानकारी दिँदै भन्नुभयो, “हामीले साउनदेखि पुससम्म नियमित घरभेट सर्वेक्षण गर्दै खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरेका थियौँ । वैशाख महिनासम्म सबैलाई आवश्यक खोप दिइएपछि यो उपलब्धि सम्भव भएको हो ।

घोषणाअघि गरिएको सर्वेक्षण, खोप अभिलेख सङ्कलन तथा अभिमुखीकरण अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रममा जानकारी दिइएको थियो । त्यस क्रममा खोप सहजीकरणका लागि योगदान गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताबारे थप जानकारी दिँदै स्वास्थ्य कार्यालयकी खोप अधिकृत सुनिता कँडेलले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता कुनै एक तहको काम होइन, यो समन्वय, लगनशीलता र निरन्तर निगरानीको नतिजा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *