दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन
दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन
राजघानी खबर
प्रकाशित मिति: 10 Jul 2025
"0"
Comments
गलकोट (बागलुङ), २६ असारः बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरको सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
‘सक्दैनौँ नहेर हेपेर
हामीलाई अपाङ्ग देखेर’
नेत्रहीन सङ्घ बागलुङका पूर्वअध्यक्ष हरिदत्त शर्माले नेत्रहिनले स्थापना गरेको उक्त उद्योगको उद्घाटनसत्रमा स्वागत गर्दै उक्त गीतको अंश उच्चारण गर्नुभएको थियो । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोणलाई बदल्न उद्योग सञ्चालनमा ल्याइ स्वरोजगारीमार्फत सहज रूपमा जीवनयापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो ।
शर्माले गीतमा भने जस्तै अब नेत्रहीन मागेर हैन पौरख गर्न सक्दछ भन्ने सन्देश दिने अभिप्रायले नगरपालिकाले सहयोग गरेको नगर कार्यालयले जनाएको छ । तत्काल चार जनालाई रोजगारी दिनेगरी रु आठ लाख लागतमा कपडा धुनका लागि प्रगोग गरिने सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
नगरप्रमुख श्रेठले उद्योग स्थापनामा सघाएको बागलुङ नगरपालिकाले उद्योगबाट उत्पादन भएको सरफको बजारीकरणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरले सोही सरफ प्रयोग गर्ने जनाउँदै बागलुङ बजारमा सरफको बजारीकरणमा नगरले सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले उद्योगको निरन्तरताका लागि नेत्रहीन सङ्घ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उद्योग स्थापनाका लागि नगरले रु चार लाख सहयोग गरेको यहाँस्थित नेत्रहीन सङ्घका सचिव विकल थापाले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा बागलुङका दृष्टिविहीन मागेर हैन गरेर खाने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“अब दृष्टिविहीनहरू चोकमा गीत गाउँदै माग्दै हिँडेर भएन, उद्योगमा उत्पादन भएको सरफको बजारीकरण गर्दै हिँड्न पर्यो, कालिका शक्ति सरफ उत्पादन गरी बजारमा ल्याएका छौँ, हरेक दिन तीन सय प्याकेट उत्पादन क्षमता रहेको यस उद्योगलाई नगरले रु चार लाख सहयोग गरेको छ”, थापाले भन्नुभयो, “बजारीकरणमा नगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले नेत्रहीन साथीहरूले पनि कर्मचारीको सहयोगमा ‘प्याकेजिङ’ तथा बजारीकरणमा सघाउँन सक्नेछन् ।”
नेत्रहीन सङ्घका अध्यक्ष कुमार पुनले अब नेत्रहीन साथीहरू उद्यमी बन्ने वातावरण सङ्घले तयार गरेको बताउनुभयो । उहाँले नगरपालिकाले दिएको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको जनाउँदै नेत्रहीनहरूले कम्तीमा घर खर्च चलाउने वातावरण सृजना गर्न उद्योग सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ–३ का वडाध्यक्ष लक्ष्मण केसी, पत्रकार महासङ्घ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, अपाङ्ग सरोकार सङ्घका अध्यक्ष चिजा थापा र टीकाराम सापकोटालगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । नेत्रहीन सङ्घ बागलुङका अध्यक्ष कमल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्ष शर्माले स्वागत र सचिव थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
