काठमाडौँ महानगरको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौँ महानगरको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

"0" Comments

काठमाडौँ, २७ असारः काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७ औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताउनुभयो ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष रु २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा रु २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो ।

राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।