आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन
आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन
राजघानी खबर
प्रकाशित मिति: 10 Jul 2025
"0"
Comments
अर्घाखाँची, २६ असार : अर्घाखाँचीमा सामुदायिक वनहरुले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ती सामुदायिक वनहरुले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन् । सामुदायिक वनले विभित्र प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरु फर्केर गाउँमा काम गर्न थालेका छन् । शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध निर्माणलगायतका विकासका काम गर्दै आएको छ ।
शितगङ्गा नगरपालिकामा रहेका सामुदायिक वनहरुले सडक निर्माण, मोटरबाटो कालोपत्र, विद्यालय भवन निर्माण, कुलो निर्माण, बिजुलीबत्ती बाल्नेलगायतका विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । सामुदायिक वनले विकास निर्माणका काम मात्र हैन, विभिन्न रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ । युवाहरू वैदेशिक रोजगारी र भारतबाट फर्केर विभिन्न रोजगारीमा लागेका छन् ।
मजुरेडाँडा सामुदायिक वन शीतगङ्गा–१२ पत्थरकोटले स्थानीय सरकारसँग सहकार्य गरेर सडक कालोपत्र गरेको छ । सामुदायिक वनको रु १५ लाख र शीतगङ्गा नगरपालिकाको रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्र गरेको सामुदायिक वनका अध्यक्ष प्रदीप विसीले बताउनुभयो । शीतगङ्गा नगरपालिका–१४ मा रहेको पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्न सुरु गरेको छ । गाउँमा अर्गानिक खेती विस्तार गर्न डिभिजन वन कार्यालयको सहकार्यमा डढेलो नियन्त्रण तथा रोजगारी सिर्जना गर्न अन्य सामुदायिक वनको समेत पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो ।
शितगङ्गा–१४ मा रहेको गौडे सामुदायिक वनले कुलो निर्माण, सडक निर्माण, खोला कटान संरक्षण, पहिरो नियन्त्रण, घाट गद्दी व्यवस्थापनलगायतका काम गर्दै आएको छ । यस्तै धीरेखोला सामुदायिक वन उपभोक्ता समूह शीतगङ्गा–१३ ले सामुदायिक वनको आम्दानीबाट गाउँमा बिजुलीबत्ती बलेको छ । कृषि पेसालाई व्यावसायिक र आधुनिक बनाउन मिनी टिलर वितरण, चाप कटहर वितरणलगायतका कार्य सामुदायिक वनको आम्दानीले गर्दै आएको सामुदायिक वनका अध्यक्ष नारायण पौडेलले बताउनुभयो । विकासका लागि कुनै तहका सरकारको मुख ताक्नु नपर्ने उनको भनाइ छ ।
शितगङ्गा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले विद्यालयमा शिक्षकको तलबदेखि, सडक निर्माण, समूहको सदस्यलाई आयआर्जनमा वृद्धि गर्न बाख्रा वितरण, शौचालय निर्माणलगायतका विभिन्न विकास निर्माणका काम गर्दै आएको समूहका अध्यक्ष रेशमराज बन्जाडेले बताउनुभयो । उहाँले नेपालमा विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठको प्रयोग गर्नसके सामुदायिक वनमा रहेको काठ बिक्री वितरणको समस्या नरहने उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ । सो अवसरमा मन्त्री कलवारले विदेशी काठको आयात तत्काल रोकी नेपाली काठको उच्चतम् प्रयोग गर्नुपर्नेमा जोड दिंँदै एकातिर वनमा काठ कुहिएर खेर गइरहेको र अर्कोतिर मुलुकमा आवश्यक पर्ने काठ किन्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गर्ने घोषणा गरेको नेपाल वर्षौँदेखि काठमा परनिर्भर भएकाले अब स्वदेशी काठलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
‘‘पैँतालीस प्रतिशतभन्दा बढी वन क्षेत्र भएको मुलुक नै काठमा परनिर्भर हुनुपर्ने अवस्था र काठ उत्पादन र प्रयोगको स्पष्ट नीति नहुँदा बर्सेनि अर्बौँ रुपैयाँ काठ खरिदमा बाहिरिने गरेको छ’’, मन्त्री कलवारले भन्नुभयो । उहाँले मुलुकमा छ वर्षयता मात्रै रु ३८ अर्ब बढीको काठ आयात भएको जानकारी दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन महानिर्देशक प्रभात सापकोटाले सामुदायिक वनमार्फत वनको दिगो व्यवस्थापन गर्दै व्यावसायिक प्रयोगलाई प्राथमिकता दिने नीति अगाडि बढाउने बताउनुभयो । उहाँले विकास निर्माणमा सामुदायिक वनको भूमिका नमुनायोग्य रहेको छ भन्नुभयो । अनुगमनमा अर्घाखाँची डिभिजन वन प्रमुख मोहनप्रसाद श्रेष्ठ, भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख शम्भु झालगायत वरिष्ठ वन अधिकृतहरु सहभागी हुनुहुन्थ्यो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
