इजरायल–इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा
इजरायल–इरान तनावले आफ्नो लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा
किएभ, ३१ जेठ : इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौं । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाब पनि एक कारक बनेको थियो ।
इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो । इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताउनुभएको छ ।
“आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो। यो हाम्रो लागि नराम्रो हो”, रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उहाँले थप्नुभयो । उहाँले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताउनुभयो ।
यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाईमा इरानमा निर्मित ड्रोन र र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दावी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् ।
युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिनुभयो । “यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन।”
उहाँले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिनुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु
