‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’
‘नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’

काठमाडौँ, ३० असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राख्नुभएका जिज्ञासाको जवाफ दिँदै उहाँले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताउनुभयो । अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालले आश्वस्त पार्नुभयो । उहाँले सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा एकतर्फ सवारीसाधन सञ्चालन गरी काम गर्ने क्रममा ट्राफिक जाम हुन पुगेको बताउनुभयो ।
“एसियाली विकास बैंकको ऋण सहयोगमा नारायणघाट–बुटवलखण्ड ११३ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ”, मन्त्री दाहालले भन्नुभयो ।

उहाँले यातायात क्षेत्रलाई चुस्त बनाउन प्राथमिकताका आधारमा सडक निर्माण कार्र्यलाई तीव्रता दिएको पनि उल्लेख गर्नुभयो । मन्त्री दाहालको भनाइ थियो,“बढी आवागमन हुने क्षेत्र, जनताका उत्पादनको बजार पहुँच र त्रिदेशीय सम्बन्धलाई स्थापित गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काठमाडौँसँग जोडिएका सडक विस्तारको काम भइरहेको छ ।”
उहाँले मातहतको मन्त्रालयअन्तर्गत नेपाल निर्माण व्यवसायी विकास परिषद् र देशमा दर्ता भएका ‘क’ वर्गका ३४८ वटा कम्पनी रहेको बताउनुभयो । समयमा निर्माण सम्पन्न गर्न नसक्ने व्यवसायीको ठेक्का अन्त्य गरी नियमअनुसार कालोसूचीमा राख्न सिफारिस गर्ने गरिएको मन्त्री दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विसं २०८१ असोज महिनासम्म सडक विभागको करिब रु २३० अर्ब कूल ठेक्का दायित्व रहेको छ । चालु आव २०८१/०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी छिनोफानो गर्ने गरी बजेटको व्यवस्था भइरहेको छ ।”