परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
राजघानी खबर
प्रकाशित मिति: 11 Jul 2025
"0"
Comments
काठमाडौँ, २७ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा राणाले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनमा उहाँले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेको जानकारी दिनुभएको थियो ।
खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणका माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताउनुभएको थियो । अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्टित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धमा धारणा राख्दै मन्त्री डा राणाले नेपाललगायत देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेकातर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपाल र नेपाल जस्ता भूबनोट रहेका देशका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि उहाँले राख्नुभएको थियो । डा राणाले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
त्यसपश्चात् गर्नुभएको जर्मनीको भ्रमणका क्रममा मन्त्री डा राणाले त्यहाँका विदेशमन्त्री डा जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । गत मङ्गलबार बर्लिनमा भएको उक्त भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्द्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गर्नुभएको थियो ।
मन्त्री डा राणाले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नाका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा रहेको पनि बताउनुभएको थियो । उहाँले इयू र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डबमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि जर्मनीसँग अनुरोध गर्नुभएको थियो ।
यसैगरी, मन्त्री डा राणाले नेपालले राष्ट्रसङ्घको मानवअधिकार परिषद्को सदस्य, आर्थिक तथा सामाजिक परिषद् सदस्य तथा सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि जर्मनी सरकारसँग आग्रह गर्नुभयो ।
उहाँ इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा नेपालमा लगानी प्रवर्द्धनका लागि आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । मन्त्री डा राणालाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
