प्रधानन्यायाधीश राउतद्वारा पाटन उच्च अदालत हेटौँडा इजलासको निरीक्षण
प्रधानन्यायाधीश राउतद्वारा पाटन उच्च अदालत हेटौँडा इजलासको निरीक्षण

मकवानपुर, २३ असारः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पाटन उच्च अदालत हेटौँडा इजलासको आज निरीक्षण गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले उच्च अदालतका न्यायाधीशहरु र अधिकृतसँग मुद्दाहरुको फछ्र्यौट गरिएको तथ्याङ्क र बाँकी रहेको मुद्दाहरुको विवरणको विषयमा छलफल गर्नुभयो । उहाँले जनतालाई छिटोछरितो न्याय दिनेतर्फ केन्द्रित भएर न्याय सम्पादन गर्न पनि निर्देशन दिनुभयो ।
सो अवसरमा उहाँले आमजनतालाई न्यायालयले निष्पक्षका साथ न्याय दिन्छ भन्ने अनुभूति दिलाउन बेञ्च र बारबीच भावनात्मक एकता कायम राखी न्याय सम्पादनलाई गतिशील प्रदान गर्न आग्रह गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले पाटन उच्च अदालत हेटौँडा इजलास बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीहरुसँग भेटघाट गर्नुभई अदालतप्रति जनताको आस्था वृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।
सो अवसरमा पाटन उच्च अदालत हेटौँडा इजलासको मुख्य न्यायाधीश यमुना भट्टराईले अदालतमा दर्ता रहेको विभिन्न प्रकारको मुद्दाको फछ्र्यौट गरिएको र एक वर्ष नाघेको मुद्दाहरु नरहेको र बाँकी केही प्रतिशत मुद्दाहरु आगमी आर्थिक वर्ष २०८२/८३ मा फछ्र्यौट गर्नतर्फ अदालतले कार्यतालिका बनाई फछ्र्यौट गर्ने जानकारी गराउनुभएको थियो ।