आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो
आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो
राजघानी खबर
प्रकाशित मिति: 06 Jul 2025
"0"
Comments
काठमाडौँ, २२ असारः बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।
आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधनाको परम्परा बसाल्नुभएको बताउनुभयो । औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला चिया उत्पादनलाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।
“तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ । कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ, कीटनाशक भएकाले नै वैदिककालदेखि तुलसीको महत्त्व बढेको हो”, डा खरेलले भन्नुभयो ।
हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित रहेका भन्दै उहाँले अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको बताउनुभयो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ ।
“एक वर्षमा २४ एकादशी पर्छन् । अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चर्तुमासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्”, उहाँले भन्नुभयो ।
कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन पनि व्यवहारमा चलेको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चर्तुमासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ ।
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।
तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चर्तुमासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराईले उल्लेख गर्नुभयो ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रकाशित मिति: 18 Jul 2025
पछिल्लो लेख
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस
प्रकाशित मिति: 18 Jul 2025
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
प्रकाशित मिति: 18 Jul 2025
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
प्रकाशित मिति: 18 Jul 2025
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
प्रकाशित मिति: 18 Jul 2025
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
प्रकाशित मिति: 18 Jul 2025
काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
प्रकाशित मिति: 18 Jul 2025
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
प्रकाशित मिति: 18 Jul 2025
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
प्रकाशित मिति: 18 Jul 2025
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
प्रकाशित मिति: 18 Jul 2025
वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट
प्रकाशित मिति: 18 Jul 2025
