रङ्ग फेर्ने रारा ताल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै

मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो ।
मौसम अनुसार दिनमै चारपाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग देखिन्छ ।
काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका विशाल हमालले पनि यस्तै अनुभव गरे । मुगु सदरमुकाम गमगडीको पश्चिमपट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्न आउने पर्यटकहरु बढेका छन्, अचेल ।
२०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एकवर्षपछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यसयता रारा आउनेलाई सजिलो भएको छ ।
रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन् । रारामा पर्यटक बढेसँगै स्थानीय व्यवसायीको आम्दानी पनि बढेको भनाइ छ, बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाको ।
मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली, चिनो कागनो फापर सिमी मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाइन्छ ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ बासी चेतना शाहीले २०७१ सालमा राराबाट फर्किने पर्यटकहरुका लागि भनेर यो कोशेली घर खोलेकी हुन् ।
मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन्, यहाँ घुम्न आउनेहरुले । तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकहरुकोे गुनासो छ ।
अचेल मुगुको रारामा वर्षको सरदर ६० हजारभन्दा बढी देशभित्र र बाहिरका पर्यटक घुम्न जाने गरेको बताइएको छ । पर्यटक बढेसँगै मुगुको आम्दानी बार्षिक ४० प्रतिशतले बढेको छ ।
पहिले पहिले मुगुको गरिबीको मात्र प्रचार गरिन्थ्यो । अचेल पर्यटक प्रवर्द्धन गरेर मुगुको विकास गर्न सकिन्छ भन्ने बहस पनि चल्न थालेको छ ।

You May Also Like