बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

"0" Comments

मन्थली (रामेछाप), ३२ असारः मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती सुरु गरेका हुन् ।

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ ।

नगदेबालीका रुपमा लिइने बेसारखेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउनुहुन्छ । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरु बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसारखेती गरेको छु”, उहाँले भन्नुभयो । आफूहरुले अभियानकै रुपमा बेसारखेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उहाँको भनाइ छ ।

बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसारखेती हुन थालेको उहाँको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अमरिसोको खेती पनि गरिरहेका छन् ।