बागमती प्रदेशमा पन्ध्र चालक र सहचालक सम्मानित

बागमती प्रदेशमा पन्ध्र चालक र सहचालक सम्मानित

"0" Comments

मकवानपुर, १९ असारः बागमती प्रदेश सरकारले अनुशासित र मर्यादित रूपमा सवारीसाधन सञ्चालन गर्ने चालक र सहचालकलाई सम्मान गरेको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रमअन्तर्गत बुधबार १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो । श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठ र महासचिव सरोज खनालले चालक तथा सहचालकलाई सम्मान प्रदान गरेका थिए ।

सम्मानित हुनेहरूमा तीनजना महिला चालक पनि छन् । चालकहरू नवीना खड्का, सरिता गौतम, जानुका गौतमसहित यादव थपलिया, कान्छा श्रेष्ठ, शरणसिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दीपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बालाई सम्मान गरिएको हो ।

ती सबैलाई जनही १५ हजार नगद प्रदान गरिएको श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख सुनिता गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट चालकको छनोट नारायणी यातायात व्यवसायी सङ्घले गरेको हो । सङ्घले गरेको मूल्याङ्कन, छनोट र सिफारिसलाई मन्त्रालयस्तरको मूल्याङ्कन समितिले समीक्षा गरी अन्तिम टुङ्गो लगाएको थियो ।

श्रम, रोजगार तथा यातायातमन्त्री महर्जनले लामो रुटमा सवारीसाधन सञ्चालन गर्ने चालकतर्फ आकर्षण घटिरहेको भन्दै यस कार्यले कार्यरतहरू प्रोत्साहन हुने बताउनुभयो । यात्रुको गुनासाको सम्बोधन हुनेगरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउनु चालकको दायित्व रहेको र त्यसमा योगदान गरेकाले पहिलोपटक १५ जनालाई सम्मान गरिएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा विज्ञ सल्लाहकार तुलसी रिजाल, महाशाखा प्रमुख विमलप्रसाद भट्टराई र सुनिता गजुरेल, यातायात व्यवस्था कार्यालय चितवन भरतपुरका प्रमुख विष्णुकुमार भट्टराई, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष विष्णु विडारी, महासचिव खनाल, मूल्याङ्कन समिति सदस्य विश्वराज राईलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *