ललितपुर क्षेत्र २ : गाउँ र सहरका आ-आफ्नै माग

ललितपुर : प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गर्दा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाले ती क्षेत्रका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थित सहर निर्माणलाई मुख्य एजेन्डा बनाउन विभिन्न दलका नेतासँग माग गरेका छन्।

निर्वाचन प्रचारप्रसारका क्रममा दिनहुँ घरदैलो गरिरहेका सबै नेतासँग सहरी क्षेत्रका बासिन्दाले आफ्नो आम्दानीको स्रोत र सिंगो जिल्लाकै पहिचान बनेका यस्ता सम्पदा संरक्षणका ठोस कार्यक्रम ल्याउन अनुरोध गरिरहेका छन्। सहरी भेगभन्दा अलि परका बासिन्दाले भने मत चाहिने भए सडक निर्माण, खानेपानीको समस्या समाधान र भूकम्पपछिको पुनर्निर्माण सहज बनाउनुपर्ने सर्त नेतासामु राखेका छन्।

घदैलो अभियानमा जुटेका दलका नेताले पनि यी विषय आफ्ना मुख्य चुनावी एजेन्डा रहेको भन्दै आफ्नो पक्षमा मतदाता रिझाउने प्रयास गरिरहेका छन्। यो क्षेत्रको सहरी भेगमा विशेष गरेर प्राचीन कला, मूर्ति, मठमन्दिर, देवालय, ढुंगेधारालगायत ऐतिहासिक सम्पदा छन्। यिनै सम्पदाको आडमा काष्ठकला, मूर्तिकला तथा अन्य कलात्मक सामग्री बेचेर दैनिक जीवनयापन गर्नेदेखि करोडौंको व्यापार गर्ने पनि यही भेगमा छन्।

आन्तरिक तथा बाह्य पर्यटकको पथप्रदर्शन गरेर परिवारको गुजारा चलाउनेहरू पनि धेरै छन्। तर, पछिल्ला दिन यस्ता सम्पदाको संरक्षण नहुँदा आफ्नो पेसा संकटमा परेको र पहिचान हराएकोमा व्यवसायी चिन्तित छन्। ‘बाजेले सुरु गरेको यो व्यवसायकै भरमा हाम्रो परिवार चलिरहेको छ। यसले ललितपुरको ऐतिहासिक चिनारी पनि जोगाइराखेको छ। तर, पछिल्लो समय यो व्यवसाय संकटमा पर्दै गएको छ’, तीन पुस्तादेखि मंगलबजारमा काठका कलात्मक सामग्रीको व्यापारमा संलग्न बाबुलाल अवालेले भने, ‘पेसा संकटमा पर्‍यो भने हामी त अन्य कुनै व्यवसाय गरौंला तर एकपटक गुमेको पाटन र मंगलबजार क्षेत्रकै परिचय पछि फर्काउन सकिँदैन। कला संरक्षण मुख्य दलका नेताले चुनावको एजेन्डा मात्र होइन, व्यवहारमा उतार्न सक्नुपर्छ।’

यो क्षेत्रमा तयार पारिने हस्तकला र काष्ठकलाका सामग्री विदेशसमेत निर्यात हुने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकले पनि प्रशस्त किन्ने गरेका छन्। तर, पछिल्ला दिन ग्राहक घटेका मात्र छैनन्, यो पेसा अपनाउने नयाँ पुस्ताका व्यक्ति पाउन मुस्किल छ। ललितपुरको अर्को पहिचान यहाँका ढुंगेधारा हुन्। तर, दिनदिनै ढुंगेधारा सुक्ने क्रम बढिरहेको छ। यसले खानेपानीको समेत समस्या बढिरहेको छ। वाम गठबन्धनका यस क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार कृष्णलाल महर्जनले भने, ‘मैले चुनावी एजेन्डामा खानेपानी समस्या समाधान गर्ने, सांस्कृतिक सम्पदा संरक्षण गरेर सिंगो क्षेत्रलाई नै पर्यटकीय नगरीका रूपमा विकास गर्ने विषय समेटेको छु। चुनाव जिते पनि नजिते पनि यी समस्या समाधानका लागि म सधैं लागिरहनेछु।’

गञ्जागोल बसोबासलाई व्यवस्थित बनाउनु पनि ललितपुरमा अर्को चुनौती रहेको वाम गठबन्धनका उम्मेदवार महर्जनको ठम्याइ छ। यस क्षेत्रमा मंगलबजार, लगनखेल, महालक्ष्मी नगरपालिका, पाटन दरबार स्क्वायर हुँदै ग्वार्को, बालकुमारी, लाँकुरी भन्ज्याङलगायत स्थान पर्छन्। कुल मतदाता ७५ हजार नौ सय छन्।

लोकतान्त्रिक गठबन्धनको समर्थनमा कांग्रेसबाट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार चन्द्र महर्जनले पनि यस क्षेत्रका सम्पदाको संरक्षण, खानेपानी समस्या समाधान, सिंगो क्षेत्रलाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने र सहर धुलो धुँवा मुक्त बनाउनु मुख्य एजेन्डा बनाएका छन्। दुवै गठबन्धनका उम्मेदवारले आफ्नो जित निश्चित भएको दाबी गरेका छन्।

सहरी क्षेत्रमा मंगलबजार तथा सहरभन्दा बाहिरी क्षेत्रमा लाँकुरी भन्ज्याङलाई केन्द्र बनाएर सिंगो क्षेत्रलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न मतदाताले दलका नेतासँग माग गरेका छन्। ललितपुरमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन्।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]